बिकेशका पाँच कविता

सहिद

जाँदैछु मर्न नरोक्नु होला विलिन हुँदैछु;
सदाको निम्ति सबको लागि जीवन त्याग्दैछु,
बहुत भयो युद्ध र हल्ला अशान्ति मच्चियो;
यो मेरो देश बुद्धको देश कुकर्म फैलियो!
क्षणिक शान्ति नर आहुति के हुन्छ मारेर?
 दाजु र भाइ मिलेर बसौँ कर्मठ बनेर,
वीर नेपाली शान्त नेपाल सदैव रहयो;
रक्त र लास हजारौँ आश कसोरी औलायो
 झुकियो जून बेस्सरी झुकियो अशान्ति फैलियो;
झुकेन देश बद्लेन भेष छ गोली थापियो,
नेपाल भूमी नेपाली ढोक्छ वैरीले ढोक्दैन;
मानिस ठूलो मनले हुन्छ तनले हुँदैन!
मर्नेछु अब रोक्नेछु सास इत्हास बन्नेछ;
दाम र नाम सहिद भनी पत्रमा छाप्नेछ,
नेपाल रहोस् नेपाली रहुन् बरु म मरेनी;
शान्ति रहोस् समृद्ध रहोस् सहिद झुन्डेनी
☆……………………☆……………………..☆

 

प्रकृति

परम आनन्द हुँदो हो;
जब प्रकृतिको काखमा खेल्दो हो!,
रङ्गीचङ्गी पुतलीहरु र चरीहरुसँगै;
साथै अविरल खोली र गिरीहरुमा,
पर्वतको ठन्डा र मधेशको गरम सहँदै;
र पिपलको समीर अनि तुलसीको पवित्रतासँगै,
परम आनन्द हुँदो हो;
जब प्रकृतिको काखमा खेल्दो हो!

वनका कस्तूरीहरुका सुगन्ध समाउँदै;
अनि लतामा बसेकी कोइलीलाई सुन्दै,
मख्खै पर्छन् कलिला पातहरु;
र लाजले भुतुक्कै हुन्छन् बूढा वृक्षहरु,
नाँच्न थाल्छन् स्थिर पथ्थरहरु;
साथै रमाउँछन् बसी अनजान बटुवाहरु,
परम आनन्द हुँदो हो;
जब प्रकृतिको काखमा खेल्दो हो!

भूमीको मिट्टीलाई भुजाले छुँदै;
अनि गगनको बादललाई समाउँदै,
फुट्न थाल्छन् शब्दहरुमा लहरा;
बात मार्न थाल्छन् खनिज चिजहरु,
नीरका मछलीहरु रमाएको देख्दैँ;
यो मन हर्षिन्छ यी सब नियाँल्दै,
परम आनन्द हुँदो हो;
जब प्रकृतिको काखमा खेल्दो हो!
☆☆☆☆☆☆☆☆☆☆☆☆☆☆☆☆

 म वेश्या हुँ !


हुँ; म वेश्या हुँ;
आफ्नु जोवन बेच्छु!
बम्बईको कुनै कोठीमा;
कुनै पराइ अनजानसँग;
रण्डीवाजी गर्छु,
तर यो मेरो रहर होइन;
न त मेरो सौख हो,
हुँ; म वेश्या हुँ;
आफ्नु जोवन बेच्छु!

जीवनमा हार खाए;
अनि विधवा नि बने,
सासुससुराले जलाए;
अनि एसिड नि फ्याके;
तर म मरिन,
मृत्युलाई दया लाग्या होला;
तर पापी मुन्छेलाई लागेन,
हुँ; म वेश्या हुँ;
आफ्नु जोवन बेच्छु!

छोराछोरी भोकै मर्दा;
आफ्नैले लात मारे,
अनि सबले वञ्चित गरे;
अझ् नियतीले पनि,
मर्न पनि खोजे;
असम्भव भइयो,
के गर्नु हजूर?;
बाँच्नु त परो,
हुँ; म वेश्या हुँ;
आफ्नु जोवन बेच्छु!

भंगेरीको मलाम जानु छ मलाई

भंगेरीको मलाम जानु छ मलाई
शीघ्र पुग्नु छ अमरावती नगर
त्यो कुनै नौलो भंगेरी थिइन
त्यै भंगेरी थिइ जसको माधूर्य गानले
भानुको पहिलो किरण जन्मिन्थ्यो
शिशुको पहिलो रोदन घन्किन्थ्यो
बन्दी नेत्र स्वयम खुलिन्थ्यो हो,
त्यै भंगेरीको मलाम जानु छ
मलाई शीघ्र पुग्नु छ अमरावती नगर ।
बहुत दूर पैदल चल्नु छ मलाई
मृत भंगेरीको कथा सुनाउनु छ भंगेरीका बा-आमालाई
बन्धुबान्धव, इष्टमित्रलाई सारा पक्षीगणलाई
अनि जनक इन्द्रलाई तै हेतु अमरावती पुग्नु छ मलाई
सुनाउनु छ सब वृतान्त भंगेरीको
भंगेरीको मलाम जानु छ मलाई
शीघ्र पुग्नु छ अमरावती नगर।
ज्ञात छ मलाई भंगेरीको देहत्याग
स्मरण छ उसको दर्दनाक कथा
सदाझैँ जे हुँदो हो,
त्यो भएन आज मेरा दो कानले सुनेनन्
मृदु गान आज असमर्थ भए भंगेरीको स्वर सुन्न
आज चकित हुँदै बाल भानुलाई देखेँ
टक्क मेरा नेत्र निसास्सिएझैँ भयो
भंगेरी निजको अन्तिम क्षणविषे थिइ
भंगेरीको मलाम जानु छ मलाई
शीघ्र पुग्नु छ अमरावती नगर।
उषाको पहिलो किरणसँगै भंगेरी घुम्न निस्केकी थिइ रे!
बाग सजाउन प्रफुल्लित थिइ रे!
यद्यपि इन्द्रको के गनासोथ्यो?
कुँन्नि भंगेरीका पखेटाहरु चल्न छाडे
अनि भंगेरी भूविषे छटपटाएर लडी
उड्न असर्मथ भई;
दो नेत्र बन्द गरी
नभन्दै भंगेरीले जीवनबाट अवकाश पाई
भंगेरीको मलाम जानु छ
मलाई शीघ्र पुग्नु छ अमरावती नगर।
अब भंगेरीको कथा सुनाउनेछु “
एकादेशमा
…………………………………………………………….थिई रे !”
भन्दै सम्पूर्ण भंगेरीका शुभचिन्तकलाई
अनि जनक इन्द्रलाई पनि तै हेतु अमरावती पुग्नु छ मलाई हो,
त्यै मृत भंगेरीलाई दफ्नाउनु छ
भंगेरीको अन्त्येष्टिमा सरिक हुनु छ
भंगेरीको मलाम जानु छ
मलाई शीघ्र पुग्नु छ अमरावती नगर ।

गहन प्रेम

प्यारी, आज यो बेजोड हावाले मेरो गालामा स्पर्श गरेको हो कि
तिम्रो गुलाबी ओठले मेरो गालामा चुमेको हो?
कहीँ तिमी यै हावामा अदृश्य भएर मसँग नुकीडुम त खेलिरहेकी छैनौं?
प्यारी, तिमीलाई त अवगत नै होला
कि तिम्रो र मेरो अदृश्य रोमाञ्चक खेलमा
मैले जति धेरै जित हात पारेपनि
सदा म तिम्रो निम्ति हार्ने गर्दछु
र सदा तिमीलाई जिताउने गर्दछु।
प्यारी, तिम्रो प्रेमको परिभाषा गर्न
मसँग कुनै वर्ण छैन, न त कुनै अक्षर छ,
न त कुनै शब्द छ,
न त कुनै वाक्य छ,
न त कुनै अनुच्छेद छ,
न त कुनै जीवन्त प्रेमपत्र छ,
न त कुनै तिम्रो निम्ति
केवल लेखिएको उपन्यास छ।
प्यारी, तिम्रो प्रेमको बयान गर्न
मसँग कुनै फर्मुला छैन,
न त कुनै सिद्धान्त छ,
न त कुनै चिन्तन छ,
न त कुनै अभिव्यक्ति छ,
न त कुनै तिम्रो निम्ति
केवल प्रमाणित गरिएको थ्योरी छ।
प्यारी, तिम्रो प्रेमको मन्थन गर्न
केवल रामायणजस्ता महाग्रन्थले फ्लप खादैन,
आइन्सटाइनको e=mc^2 ले पनि फ्लप खान्छ।
-इटहरी, सुनसरी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close