खाँडो खोलाले बगायो एकजना

बिहिबार २६ श्रावण २०७४ इटहरी न्युजडेस्क-
सप्तरीस्थित खाँडो खोलामा आएको बाढीले बगाएर एकजना बेपत्ता भएका छन्। राजविराज १५ का ५० बर्षीय डोमी यादव बेपत्ता भएका हुन् ।
राजबिराज १५ देउरी भरुवास्थित खाँडो खोलामा आएको बाढीले बाँध भत्काउ्रँदै गर्दा सो बाँध मर्मत गर्न गएका यादवलाई माटोको ढिस्को पुरेपछि बेपत्ता भएका हुन्।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा बाँध मर्मत गर्दा बाँधको माटोको ढिस्कोले पुरिएर यादव बेपत्ता भएको प्रहरीले जनाएको छ। यता नजिकै नेपाली सेनाको टोली खटिएपनि माटोको ढिस्कोले पुरिएका यादवलाई तत्कालै खोजी गर्न सेनाले कुनै तत्परता नदेखाएको स्थानीयको आरोप छ। वेपत्ता यादवको खोजी भईरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो।

त्यस्तै बिहानैदेखी परेको बर्षाका कारण राजविराज १ डुमरी शिवथानस्थित खाँडो खोलाको बाँध भत्किएको छ। बाँध भत्किएपछि स्थानीय त्रसित भएका छन् भने सो क्षेत्र वरिपरि लगाइएको धान खेतमा बाढी पसेर जमेको छ। बाढीका कारण जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ र ३ सकरपुरा गाउको एक दर्जन घर डुबानमा परेको छ ।

त्यस्तै सप्तकोशी नदीको बहाव बढेपछि सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका ७ स्थित मुसहरी टोलका ५५ घर डुवानमा परेका छन्। त्यस्तै सोही नगरपालिका १४ डलुवास्थित एक दर्जन बढी घर जोखिममा परेका छन् भने कंचनरुप नगरपालिका ७ स्थित बान्द्रा खोलामा आएको बाढीले बाँध भत्किंदा सोही ठाउँका गणेश बिष्ट, कपिल खड्काको धानबालीमा क्षती भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

२६ श्रावण २०७४, बिहीबार ११:२३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु