वीपीमा थाहा नभएको रोगबाट चारजनाको निधन

शुक्रबार २ भदौ २०७४ धरान संबाददाता-
धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा थाहा नभएको रोगवाट ४ जनाको ज्यान गएको छ। ज्यान गुमाउनेहरु सबै ६ देखि १४ बर्ष मुनिका बालवालिका छन । उच्च ज्वरो आउने, बान्ता गर्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताउनुभयो। ज्वरो आएर आएको हुने र आँफुहरुले डाइग्नोसिस गर्न नपाउंदै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक–दुई घण्टा मै मृत्यु हुने उपचारमा संलग्न डा. पौडेलले बताउनुभयो।

उहाँले आँफुहरुले अहिले सम्म रोगबारे थाहा पाउन नसकेको भन्दै स्क्रफटाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुनसक्ने तर आँफुहरुले परीक्षण गर्नै नपाई तत्कालै विरामीको मृत्यु भईहाल्ने हुँदा भाइरल हेमोरेजिक फिभर हुनसक्ने बताउनुभयो। साउन १५, २४, ३१ र भदौ १ गते ती बच्चाहरु प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका थिए ।

मृतकहरुमा इटहरी–१० सुनसरीका राजु कार्की, कन्चनपुर–१० सप्तरीकी प्रितीकुमारी चौधरी, थोकशिला–९ उदयपुरका प्रशान्त राई र धरान–१७, सुनसरीका बिकल्प राई रहेको प्रतिष्ठानका सूचना अधिकारी सुजेन्द्र तामाङले बताउनुभयो। प्रतिष्ठानले काठमाण्डौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको तामांले जानकारी दिनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close