स्थानीय यूवाहरु स्वरोजगार बन्दै

बुधबार ०७ भाद्र २०७४दुहवी प्रेम गिरी-
मोरङको बुढीगंगा गाउँपालिकास्थित मनमोहन स्मृति पोलीटेक्निकद्वारा सञ्चालित ब्रिक लेयर मेसन २ तालिमको सिटिइभिटीको प्रमाण पत्र बितरण सम्पन्न भएको छ। भूकम्पपछिको निर्माणलाई सुरक्षित बनाउन ब्रिक लेयर मेसन तालिम शुरु गरिएको थियो।

बिगत १०बर्षदेखी मनमोहन स्मृति पोलीटेक्निकले एसीयाली बिकास बैंकको सहयोगमा पूर्वाञ्चलका १६जिल्लाका बेरोजगारहरुलाई लक्षित गर्दै २ दर्जन भन्दा बढी सिपमुलक तालिमहरुको गर्दै आएको छ।

दुहवी नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले तालिममा उत्तिर्ण १९जनालाई प्रमाण पत्र बितरण गर्नुहुँदै बेरोजगारहरुले सिप सिकेर आत्मनिर्भर हुनुपर्ने र मजदुरहरुले मजदुर कल्याणकारिणि कोष खोल्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपाल सरकारको मापदण्ड अनुसार घरहरु निर्माणको लागि सोहि अनुसारले सीप सिकाउनको लागि प्रशिक्षक तथा संस्थालाई सुझाव दिनुभयो।

गच्छदारले अवदेखी सिपमुलक तालिम सिकेर प्रमाण पत्र भएकाहरुलाई मात्र दुहवी नगरपालिकाको बिकास निर्माणको काममा सहभागी गराउन नगरपालिकाका कार्यकारी अधिकृत प्रमोद कुमार चौधरीलाई निर्देशन समेत दिनुभयो।

यसैगरी मनमोहन स्मृति पोलीटेक्निकका प्राचार्य सुभाष श्री पोखरेलले तालिम सञ्चालनसँगै सामाजिक कार्य गर्न बिभिन्न दातृ संस्थाहरुसँग समन्वय गरिरहेको तथा आगामी दिनमा पनि अन्य कार्यक्रमहरु छिट्टै ल्याउने बताउनुभयो।

उहाँले मनमोहन स्मृति पोलीटेक्निक र दुहवी नगरपालिकाले समन्वय गरेर अगाडी बढ्नुकासाथै आवश्यकता र माग हेरी अन्य बिधाका तालिमहरु पनि सञ्चालन गर्ने जानकारी गराउनुभयो।

कार्यक्रममा स्थानीय तीनजना महिला डकर्मीलाई सम्मान गरिएको थियो। लामो समयदेखी भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै मनमोहन स्मृति पोलीटेक्निकले स्थानीय राजकुमारी बतर्नी, बोघनी कुमारी ऋषीदेव, र कलकत्ती ऋषीदेवलाई दोसल्ला ओढाई सम्मान गरेको थियो।

कार्यक्रममा भवन निर्माण व्यवसायी संघका पदाधिकारी, संघ संस्थाका प्रतिनिधि लगायतलाई मायाँको चीनो प्रदान गरिएको थियो। मनमोहन स्मृति पोलीटेक्निकका तालिम प्रबन्धक इन्जीनीयर सुदिप अधिकारीको संयोजकत्वमा भएको कार्यक्रम उद्घोषण इन्जीनीयर युवराज चौधरीले गर्नुभएको थियो।

७ भाद्र २०७४, बुधबार १०:३२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु