मेची अञ्चल अस्पतालमा थप उपचार सेवा सुरु

शनिबार १० भाद्र २०७४ इटहरी न्युजडेस्क-
मृगौला तथा पेट सम्बन्धी बिरामीका लागि झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा थप उपचार सेवा सुरु भएको छ। स्वास्थ्य मन्त्रालयले मेची अस्पताललाई बजेट बिनियोजन गरेसँगै हेमोडाईलाइसिस तथा भिडियो इन्डोस्कोपी उपचार सेवा एकैसाथ सुरु भएको हो।

सरकारी अस्पतालमा यी थप उपचार सेवा सुरु भएपछि गरिब जनतालाई चर्को शुल्क तिरेर निजी अस्पताल जाने बाध्यताको अन्त्य भएको छ। मेचीमा यसअघि चार वेडको आईसीयू (सघन उपचार कक्ष) र अस्पताल भित्रै फार्मेसी सञ्चालनमा आइसकेको छ।

स्वास्थ्य मन्त्रालयले दिएको ५० लाख र अस्पताल बिकास समितिको थप बजेटबाट अनुमानित ६० लाख लागतमा चार बेडको हेमोडाईलाइसिस तथा भिडियो इन्डोस्कोपी सेवाको शुक्रवार एक समारोहका बीच उद्घाटन गरिएको छ।

नेपाली काग्रेसका नेता एवं सो क्षेत्रका सांसद कृष्णप्रसाद सिटौलाले दुवै उपचार सेवाको रिवन काटेर उद्घाटन गर्नुभएको थियो। उदघाटन कार्यक्रममा सिटौलाले सरकारले स्वास्थ्य र शिक्षामा सुधार ल्याए देशमा कायापलट हुन समय नलाग्ने बताउनुभयो।

सरकारी अस्पतालको स्तरौन्नतीका लागि स्वास्थ्य मन्त्रालयले ध्यान दिन थालिसकेको बताउदै सिटौलाले अब उपचारको अभावमा कुनैपनि गरिब जनता पैसाको अभावले नमर्ने नेता सिटौलाले बताउनुभयो। बि.स २०१५सालमा स्थापना भएको मेची अञ्चल अस्पतालमा आवश्यक चिकित्सकसहितको जनशक्ति र उपकरण नहुँदा बिरामीलाई अन्यन्त्र रेफर गर्नुपर्ने अवस्था थियो।

तर, तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले मेची अस्पतालका लागि ठूलो बजेटसहितको बिभिन्न योजना अघि सारेपछि अस्पतालको मुहार फेरी थालेको हो। अस्पतालमा भौतिक निर्माण, सेवा विस्तार, सरसफाई र गुणस्तरीय सेवाको लागी हर प्रयास भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पिताम्बर ठाकुरले बताउनुभयो। सुरु गरिएको हेमोडाईलाइसिस सेवा दैनिक र भिडियो इन्डोस्कोपी हप्ताको दूई दिन सोमबार र बुधवार दिइने उहाँले बताउनुभयो। हाल यस अस्पतालले १ सय ३२ शैयाबाट बिरामीले सेवा लिँदै आएका छन। अर्को तर्फ स्वास्थ्य मन्त्रालयले मेची अस्पताललाई आधुनिक तथा सुविधा सम्पन्न बनाउनका लागी ३० करोड लागतमा भवन निर्माणका लागि टेण्डर आव्हन गरिसकेको छ। टेण्डर स्वीकृति भएपछि चाँडै निर्माण कार्य सुरु हुने अस्पताल बिकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिनुभयो।

यस्तै अस्पताल बिकास समितिले मेची मेडिकल कलेज बनाउन पहल सुरु गरिसकेको अध्यक्ष कट्टेलले बताउनुभयो। दक्ष जनशक्ति उत्पादनको लागी संघीय तथा स्थानीय बिकास मन्त्रालको स्वामीत्वमा रहेको भद्रपुर १०स्थित ग्रामीण बिकास प्रशिक्षण केन्द्रको जग्गामा मेडिकल कलेज निर्माणको लागी स्वास्थ्य मन्त्रालयमा प्रक्रिया अघि बढिसकेको उहाँले जानकारी गराउनुभयो।

उद्घाटन कार्यक्रममा सांसदद्वय मोहन टुडु, जितु गौतम, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, एमालेका जिल्ला अध्यक्ष चिन्तक पाठक, माओवादी केन्द्रका झापा संयोजक झलकसिह दर्लामी, पूर्व सांसद पुष्पराज पोखरेल, अस्पताल बिकास समितिका पूर्व अध्यक्ष ज्योतिसिंह दर्लामी, कांग्रेसका क्षेत्रीय सभापती गणेश पोखरेल लगायतले अस्पतालमा देखिएको समस्या र भावि योजनालाई एक ढिक्का भएर अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close