पथरी उद्योग बाणिज्य संघका अध्यक्ष तामां पक्राउ

मंगलबार १३ भाद्र २०७४ इटहरी न्युजडेस्क-
मोरङको पथरीशनिश्चरेस्थित पथरी उद्योग बाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ पक्राउ परेका छन। स्थानीय व्यापारीलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीले तामांलाई पक्राउ गरेको हो।

पटक–पटक बिवादमा पर्दै आएका तामाङले पथरी बजारमा साइकल पसल सञ्चालन गर्ने खेम ढुंगानालाई ज्यान मार्ने धम्की दिएपछि पक्राउ गरेको पथरी प्रहरीले जनाएको छ। पक्राउ परेका तामांलाई सार्वजनिक अपराध अन्तरगत मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ।

पक्राउ तामाङले आइतबार राती ८बजेको समयमा मादक पदार्थ सेवन गरी ढुंगानालाई ज्यान लिने धम्कि दिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरिक्षक राजन कार्कीले बताउनुभयो। केही युवाको साथमा ढुंगानाको पसलमा पुगेर धम्कि दिएपछि ढुंगानाले दिएको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको कार्कीले जानकारी दिनुभयो।

पक्राउ परेका तामां

तामाङ पक्राउ परेपछि राती ९ बजेको समयमा तामाङ पक्षका ४, ५ जना युवाले पथरीशनिश्चरे–१ का वडाध्यक्ष बाबुराम एङ्देनको घरमा पुगी एङदेनलाई समेत धम्क्याएको अर्काे उजुरी पनि परेको कार्कीले जानकारी दिनुभयो। ती युवाबाट तामाङलाई प्रहरीबाट छुटाउन सहयोग गर्न दवाव दिँदै सहयोग नगरे ठीक नहुने धम्कि आएपछि एङ्देनले समेत उजुरी दर्ता गराउनुभएको छ। धम्क्याउने अन्य युवाको खोजी भइरहेको कार्कीले बताउनुभयो।

बिभिन्न सामाजिक संघ–संस्थाको अगुवाइ गरेपनि मादक पदार्थ सेवन गरी पटक–पटक स्थानीयमाथि कुटपिट र धाक–धम्कि दिँदै आएकाले तामाङलाई नियन्त्रणमा लिनुपरेको कार्कीको भनाई छ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररुपमा वडाध्यक्षका उम्मेदवार बनेका तामाङ पराजित भएपछि तामाङले बिभिन्न व्यक्तिहरुलाई ठीक पार्ने भन्दै गालीगलौज गर्नुका साथै धम्की दिँदै आएको स्थानीयले बताएका छन्।

तामाङले निर्वाचन लगत्तै हलुका सवारी व्यवसायी संघका नगर अध्यक्ष रोशन बुढाथोकीमाथि समेत कुटपिट गरेका थिए। तामाङ, बाणिज्य संघका साथै मोरङ बस यातायात संघ र पथरी स्पोर्टिङ क्लवका अध्यक्ष पनि हुन्।

१३ भाद्र २०७४, मंगलवार ०८:४१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु