सरकारले सबैलाई करको दायरामा ल्याउने

मंगलबार २० भाद्र २०७४ इटहरी न्युजडेस्क-
सरकारले सबैलाई करको दायरामा ल्याउने तयारी गरेको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पनि सबैलाई करको दायरामा ल्याउने गरी काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले सबैलाई करको दायरमा ल्याई सुशासनको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। आन्तरिक राजस्व बिभागले काठमाण्डौमा गरेको २ दिने व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले सन् २०३० सम्म दिगो आर्थिक बिकास हासिल गर्ने लक्ष्य प्राप्ती गर्न राजस्व परिचालनको कामलाई अझै प्रभावकारी बनाउन पनि मातहतका सबै निकायलाई सचेत गराउनुभयो।

उहाँले संघीय ढाँचा अनुसारको संरचना निर्माण गरी राजस्व परिचालनको कामलाई अघि बढाउन ढिलाई नगर्न पनि निर्देशन दिनुभयो। अर्थमन्त्री कार्कीले सरकारले दीगो, उच्च र फराकिलो आर्थिक बिकास गर्ने लक्ष्य लिएको स्पष्ट पार्नुभयो।

राजस्व सचिव शिशिरकुमार ढुंगानाले लक्ष्यभन्दा कम राजस्व संकलन गर्ने बिभागलाई कडा कारबाही गर्ने चेतावनी दिनुभयो। उहाँले लक्ष्यअनुसार राजस्व उठाउन नसके मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने सरकारको लक्ष्य हासिल हुन नसक्ने भएकाले पनि राजस्व संकलनमा बृद्धि गर्नुको बिकल्प नरहेको स्पष्ट पार्नुभयो।

राजस्व संकलनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ आन्तरिक राजस्व बिभागले ब्यवस्थापन गोष्ठी आयोजना गरेको हो। गोष्ठीमा देशभरका राजस्व कार्यालयका प्रमुखहरुको सहभागिता छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close