प्रतिबद्वता पुरा गर्न नसकेकोमा माफी चाहन्छु : ढकाल

सोमबार २६भाद्र २०७४ सुन्दरहरैँचा शिव भट्टराई-

मोरङ्गको सुन्दरहरैँचाका मेयर शिव ढकालले आफुले गरेका प्रतिबद्वता पुरा गर्न नसकेकोमा माफी माग्नु भएको छ। जनचेतनाको कमी एवं श्रावण अन्तिम साता आएको बाढीका कारण आफुले गरेका प्रतिबद्वता समयमा पुरा गर्न नसकेकोमा माफी माग्नु भएको हो।

पूर्व पश्चिम राजमार्ग अन्तरगत गछियास्थित मुख्य बजार क्षेत्रमा थुप्रिएको फोहेर मैला उठाउने बिषयमा जनचेतनाको कमी भएको भन्दै ढकालले राजमार्ग क्षेत्रमा मरेका चौपाया फ्याकिनु मुख्य कारण रहेको भन्दै यसकालागि मानबीय सचेतना कमि रहेको उल्लेख गर्नुभयो।

यस्तै घरबाट निस्कने फोहोर मैला सडक क्षेत्रमा फ्याल्ने प्रबृतिको अन्त्य नभएसम्म आँफुले मात्रै केहि गर्न नसक्ने बताउनुभयो। ढकालले श्रावण अन्तिम साता आएको बाढीका कारण आफुहरुको ध्यान बाढीपिडित तर्फ केन्द्रित भएकोले पनि त्यसतर्फ ध्यान नपुगेको बताउनुभयो।

सो क्षेत्रमा कसले फोहोर गर्छ सो बिषय जनताबाट कम्प्लेन आएको खण्डमा तुरुन्त कारबाही गर्ने भन्दै ढकालले जनताले कम्प्लेन गर्नुपर्ने बताउनुभयो। यदि जनस्तरबाट उजिरी आएमा आँफुहरुले फोहोर गर्नेलाई कारबाही गर्ने प्रतिबद्वता जनाउनुभयो। जथाभावी फोहोर मैला फ्याल्ने प्रबृतिका कारण गछियाको गाडी पार्किङ्ग गर्ने क्षेत्र र छेउछाउमा बसोबास गर्नेहरुलाई समेत समस्या परेको छ।

मेयर ढकालले शौचालयको अभावमा दुर्गन्ध फैलिएको स्विकार्दै सार्वजनिक शौचालय निर्माण गर्ने प्रतिबद्वता पनि पुरा गर्न नसकेको स्विकार्नुभयो। स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरेर परिषदको बैठकपछि शौचालय निर्माण गर्ने र राजमार्गमा मरेका जनावर सडक आसपासमा फाल्ने प्रवृतीलाई निरुत्साहित पार्ने बताउनुभयो।

मेयर ढकालले पुर्वाञ्चल बिश्वबिद्यालयको केन्द्रिय कार्यालय गोठगाउँमा ल्याउन नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ। आँफुले कार्यालय सार्ने प्रयासमा छलफल गरेको समयमा पूर्वाञ्चल बिश्वबिद्यालयका भिसीसँग चर्काचर्की समेत भएको बताउनुभयो।

उहाँले कार्यालय गोठगाउँ ल्याएरै छाड्ने भन्दै सबै प्रतिनिधीसँग समन्वय गरेर अघि बढ्ने आवश्यक्ता परे आन्दोलन नै गर्न पछि नपर्ने बताउनुभयो।

२६ भाद्र २०७४, सोमबार ०६:१५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु