चिकित्सक संघको आपत्ति

सोमबार ०२ असोज २०७४ इटहरी न्युजडेस्क-
नेपाल चिकित्सक संघले चिकित्सकहरुबाटै क्षतिपूर्ति भराउन आवश्यक विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने सरकारको निर्णयप्रति घोर निन्दा र भत्सर्ना गरेको छ। संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारको निर्णयप्रति आपत्ति जनाउँदै निन्दा र भत्सर्ना गर्नुभएको हो।

सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी उहाँले सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धि ऐनको भावना र मर्म विपरित सम्पूर्ण चिकित्सकहरुको मानमर्दन हुने र पेशेवर सामाजिक अपराधिहरुको मनोबल बढाउने गरी चिकित्सकहरुबाटै क्षतिपूर्ति भराउने गरी विधेयक बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।

संघले सो बिवादास्पद निर्णय ७२ घण्टा भित्र फिर्ता नलिए देशभर सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गरी निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएको छ। सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले चिकित्सकहरुको लापरबाहीका कारण मृत्यु भएका किरामीको क्षतिपूर्ति सम्बन्धित चिकित्सकहरुबाटै भराउने गरी विधेयक ल्याउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो। सोही निर्णयप्रति चिकित्सक संघले घोर आपत्ति जनाएको हो।

संघका अध्यक्ष श्रेष्ठले कानुनी प्रावधानलाई समेत बेवास्ता गर्दै सरकारले चिकित्सकहरुको मानमर्दन गर्ने काम गरेको भन्दै त्यसको विरुद्ध आन्दोलन गर्न तयारी अवस्थामा रहन पनि देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई अपिल गर्नुभयो।

संघले सरकारले स्वास्थ्यकर्मी तथा चिकित्सकले बिरामीको उपचारका क्रममा लापरबाही गरे हुने कार्वाही सम्बन्धि कानुनी व्यवस्थाको समेत खिल्ली उडाउने काम गरेको आरोप लगाएको छ।

२ आश्विन २०७४, सोमबार १२:५९ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु