बीपी प्रतिष्ठानमा मौलायो राजनीति

मंगलबार ०३ असोज २०७४ इटहरी न्युजडेस्क –
दक्षिण एसियाकै उदाहरणीय स्वास्थ्य संस्थाका रुपमा परिचित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बेथिती मौलाउँदै गएको छ। स्वास्थ्य उपचार दिन र देशका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न स्थापना गरिएको प्रतिष्ठान भ्रष्टाचार, कर्मचारीतन्त्र र राजनीतिकरणका कारण बदनाम बन्दै गएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कर्मचारीहरु बिभिन्न माग राखी आन्दोलनरत छन्। उनीहरुले तलबमान आयोगले सिफारिस गरेको तलब सुविधाबाहेक प्रतिष्ठानभित्रको भ्रष्टाचार र कमिसनतन्त्रको अन्त्य हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। नयाँ उपकूलपति आएको ६महिना बितिसक्दा पनि प्रतिष्ठानभित्र कुनै सुधार हुन नसकेको उनिहरुको भनाई छ।

राजनीतिक पार्टीका जिम्मेवारी पदमा बसेका कर्मचारीहरुको आन्दोलनले प्रतिष्ठानको सेवा नै प्रभावित बनेको छ। प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारी भएकाले प्रतिष्ठानमा बेथिती बढ्दै गएको सरोकारवालाहरुको भनाई छ।

राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले दलका नेता तथा कार्यकर्तालाई पोस्ने काम बाहेक केही गर्न नसकेको सरोकारवालको आरोप छ। प्रतिष्ठानको नियमावलीले कर्मचारीले कुनैपनि राजनितिक पार्टीको पदधारण गर्न नपाउने उल्लेख छ।

वीपीको रोग नै राजनीतिकरण रहेको बिश्लेषकहरुको ठम्याइ छ। प्रतिष्ठानमा उपचारका लागि विभिन्न जिल्लाबाट दैनिक तीन–चार हजारको हाराहारीमा बिरामी पुग्ने गरेका छन्।

३ आश्विन २०७४, मंगलवार १२:४७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु