बडादसैंको दोस्रो दिन आज

शुक्रबार ०६ असोज २०७४ इटहरी न्युजडेस्क-
बडादसैंको दोस्रो दिन आज शक्तिस्वरुपा ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै छ। हिजो घर–घरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीको पूजा आराधना गर्ने गरिन्छ।

राजधानीलगायत देशभरका शक्तिपीठमा आज बिहानैदेखि भक्तजनहरुको घुईंचो लागेको छ। राजधानीको भद्रकाली, संकटा, नक्साल भगवती, मैतिदेवी, दक्षिणकालीलगायतका शक्तिपीठमा पूजाआजा गर्न जानेहरुको बिहानैदेखि घुईंचो लागेको छ।

यस्तै विराटनगरको काली मन्दिर, शन्सारी माइस्थान,धरानको दन्तकालीलगायतका मन्दिरहरुमा समेत भक्तजनहरुको भीड लागेको छ।

हिजो राखेको जमरा नवरात्रभरी पूजा आराधना गरेर विजया दशमीको दिन दुर्गा भवानीको प्रसादको रुपमा लगाउने चलन छ। घटस्थापनाको दिनदेखि नवमीसम्म घर तथा देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गरिन्छ।

यसै अवसरमा दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ। नवरात्रमा व्रत बस्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close