वीरेन्द्रनगर कप क्रिकेट प्रतियोगिता : उद्याटन खेलमा इटहरी बिजयी

बिहिबार १९असोज २०७४ पथरी करण धिताल-
मोरङको पथरीशनिश्चरेमा आज शुरु भएको पूर्वाञ्चल स्तरीय सातौ वीरेन्द्रनगर च्यालेञ्ज कप क्रिकेट प्रतियोगिताको उद्याटन खेलमा इटहरी क्रिकेट एकेडेमीले बिजयी शुरुवात गरेको छ। आज सुरु प्रतियोगितामा बी.सी.सी.दमकलाई ४६ रनले पाखा लगाउँदै गत संस्करणको बिजेता इटहरीले बिजययात्रालाई निरन्तरता दिएको हो।

उद्याटन खेलमा बिजयी हुँदै इटहरी दोश्रो चरणमा प्रवेश गरेको छ। इटहरीले दिएको ६१ रनको सामान्य लक्ष्य पछ्याएको दमक १०दशमलब ३ ओभरमा मात्र १४ रनमा समेटिएको थियो। दमकका १० जना खेलाडी खाता नखोल्दै पवेलियन फर्किएका थिए। दमकका लागि कुमार खड्काले ४ रन जोडेका थिए।

मैदानमा खेलाडी

दमकलाई झिनो योगफलमा समेट्न इटहरीका कप्तान बिधान गोस्वामीले ४ ओभरमा ३ मेडन राख्दै मात्र १ रन खर्चेर ५ विकेट लिए। इटहरीका फिरतोस अन्सारीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इटहरीले खराब ब्याटिङ प्रदर्शन गर्दै १२ दशमलब २ ओभरमा मात्र ६०रनमा अल आउट भएको थियो। इटहरीका लागि श्रवन रोयले सर्वाधिक १३ र फिरतोस अन्सारीले ९ रन बनाएका थिए। इटहरीका तर्फबाट राष्ट्रिय टोलीमा समेत खेलिसकेका पुष्प थापा भने मात्र २ रनमा आउट भएका थिए।

इटहरीलाई मध्यम योगफलमा समेट्न दमकका ज्ञान श्रेष्ठ र बिक्रम चौलागाईले समान ३÷३ विकेट लिए। खेलको म्यान अफ द म्याच उत्कृष्ट बलिङ प्रदर्शन गरेका इटहरीका कप्तान बिधान गोस्वामी घोषित भए। गोस्वामीले नगद ५ सय रुपैयाँ सहित ट्रफि र मेडल प्राप्त गरे।

म्यान अफ द म्याच इटहरीका कप्तान बिधान गोस्वामी पुरस्कार ग्रहण गर्दै

प्रतियोगितालाई पूर्वाञ्चल क्षेत्रीय खेलकुद बिकास समितिका अध्यक्ष रवन नगरकोटी र पथरी शनिश्चरे नगरपालिकाकी उपमेयर यमुना बिष्टले संयूक्त रुपमा उद्घाटन गरेका थिए। उद्घाटनपछि अध्यक्ष नगरकोटीले ग्रामिण क्षेत्रमा हुने यस्ता प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मदत मिल्ने बताउनुभयो।

असोज ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पूर्वाञ्चलका १४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेता टोलीले नगद ५१ हजार सँगै ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेता टोलीले नगद ३१ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन।

पूर्वी खबर अफिसियल मिडिया रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ बराबरको मोबाईल प्रदान गरिने र उत्कृष्ट ब्याट्सम्यान, बलर र फिल्डरलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष राजेश कुईकेलले जानकारी दिनुभयो।

प्रतियोगिता अन्तर्गत शुक्रबार बिराटनगर क्रिकेट क्लब र किरातेश्वर क्रिकेट क्लब दुधे झापा बीच खेल हुने आयोजकले जनाएको छ।

१९ आश्विन २०७४, बिहीबार ०९:५३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु