बेलायतका डाक्टरहरुले इटहरीमा एकबर्षे तालिम दिने

शुक्रबार २० असोज २०७४ इटहरी न्युजडेस्क-
बेलायतका डाक्टरहरुको समुहले नेपालका स्वास्थ्यकर्मीहरुलाई क्षमता बिकासका लागि निःशुल्क कार्यशाला र तालिम दिने भएका छन्। इटहरीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराईएको हो।

इटहरी र पूर्व क्षेत्रमा रहेका ४०जना स्वास्थ्यकर्मीहरुलाई एकबर्षे निःशुल्क तालिम दिने र यसका लागि पहिलो चरणमा ७०जना स्वास्थ्यकर्मीहरुका लागी तीनदिने कार्यशाला गरिने भएको छ। कार्यशाला समेत निःशुल्क हुने जनाईएको छ।

यहि कात्र्तिक १७ देखि १९ गतेसम्म कार्याशाला चल्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। बेलायतस्थित ‘इन्टरनेशनल सेन्टर फर इमर्जेन्सी मेडिसिन’, ‘इन्टरनेशनल एकेडेमी अफ मेडिकल लिडरसिप’का डाक्टरहरुले कार्यशाला र तालिम गराउने भएका हुन्।

रिमोर्ट इमर्जेन्सी एण्ड प्राइमरी केयर सर्भिस इन नेपाल (REPSIN) नामक कार्यशालामा सहभागि मध्येबाट छानिएका ४०जनालाई एक बर्षे तालिम दिईने इमर्जेन्सी मेडिसिनका डाक्टर प्रकाश रिजालले बताउनुभयो।

उहाँले आफूहरु नेपालको स्वास्थ्य क्षेत्रको सुधारको लागि लागिपरेको भन्दै बेला बेलामा यस्ता कार्यशाला गर्ने गरेको बताउनुभयो। यो पटकको तालिम आकस्मिक स्वास्थ्य सम्बन्धि रहेको र नेपालमै पहिलो पटक सञ्चालन गर्न लागिएको रिजालले जानकारी दिनुभयो।

तालिमको लागि स्थानीय स्तरमा आयोजकको काम भने संगीत साधना प्रतिष्ठान इटहरी, रेडक्रस इटहरी, प्राथमिक स्वास्थ्य केन्द्र इटहरीले गर्ने भएको छ। प्रतिष्ठानका महासचीव राजु केसीले तालिमले इटहरीको स्वास्थ्य क्षेत्रको सुधार गर्ने आशा लिएको बताउनुभयो। उहाँले कार्यशालामा सहभागि हुने स्वास्थ्यकर्मीहरुको ज्ञान, सीप र धारणाको बिकास हुने बताउनुभयो। उहाँले आफ्नो काममा कटिबद्ध स्वास्थ्यकर्मीहरुलाई प्राथमिकताका साथ कार्यशाला र तालिममा सहभागि गराउने लक्ष्य लिएको बताउनुभयो।

कार्यशाला इटहरीस्थित संगीत साधना प्रतिष्ठानको भवनमा सञ्चालन हुने र कार्यशालामा सहभागि हुन चाहनेहरुले प्राथमिक स्वास्थ्य केन्द्र इटहरीमा सम्पर्क गरी नाम दर्ता गर्न समेत अनुरोध गरिएको छ।

 

२० आश्विन २०७४, शुक्रबार ०९:५० मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु