राजपाको युवा संगठनका अध्यक्ष र महासचिव नै माओवादीमा प्रवेश

काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल र महासचिव अनिल कुशवाहासहितका नेताहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

उनीहरुलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान टीका लगाएर पार्टीमा स्वागत गरे। उनीसँगै नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतकापनि माओवादीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश गर्नेक्रममा बोल्दै युवा नेता पट्टेलले राजपाले मधेसका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेसी जनतालाई आन्दोलनका नाममा धोखा दिएको, राष्ट्रिय एकता कमजोर बनाएको र पार्टीलाई परिवारको भर्ती केन्द्र बनाएको आरोप लगाए। माओवादी राष्ट्रिय एकता र मधेसीको अधिकारका लागि लड्ने पार्टी भएकाले आफू माओवादीमा प्रवेश गरेको उनको भनाइ छ।

‘राष्ट्रिय एकताको पक्षधर एवं मधेसी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ,’ नेता पट्टेलले भने। उनले राजपाका अन्य केन्द्रीय नेताहरु पनि माओवादीमा आउने तयारीमा रहेको जानकारी गराए। सो अवसरमा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता, आर्थिक समृद्धि र मधेसको अधिकारका पक्षमा लड्ने पार्टी माओवादी नै भएको बताए। ‘अन्ततः माओवादी नै देशको हित र मधेसीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन्,’ प्रचण्डले भने, ‘तपाईंहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ।’ उनले पार्टी प्रवेश गर्नेहरुलाई उचित जिम्मेवारी दिने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close