बिर्तामोडमा प्रहरी र स्थानीयबीच झडप

झापाको अर्जुनधाराका एक बालक हत्याको विरोधमा बिर्तामोडमा प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको छ।

दसैंको टीकाको भोलिपल्ट मृत भेटिएका अर्जुनधारा- ११ का ११ वर्षीय बालक लक्ष्‍मण शिवाकोटीको हत्या भएको र हत्यारालाई प्रहरीले संरक्षण गरेको भन्दै स्थानीयले शुक्रबार बिहान बिर्तामोडमा प्रदर्शन गरेका थिए। प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

स्थानीयले शनिश्चरे रोडबाट प्रदर्शन सुरु गरेका थिए। उक्त प्रर्दशनलाई स्कटिङ गरेर प्रहरीले नै मुक्ति चोकसम्म पुर्‍याएको र त्यहाँ पुगेपछि प्रहरीले एक्कासि हस्तक्षेप गरेको झापाका पत्रकार प्रेम आचार्यले थाहा खबरलाई जानकारी दिए। आचार्यका अनुसार अहिले बिर्तामोडमा अघोषित कर्फ्यू लागेको छ। प्रहरीले अश्रुग्यास र हवाई फायरसमेत गरेको छ। प्रहरीले बिर्तामोडका व्यापारीहरुलाई समेत पसलमै गएर कुटपिट र अपशब्द प्रयोग गरेको पत्रकार आचार्यले जानकारी दिए।

झडपमा केही घाइते भएका छन्। केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता जिल्ला प्रहरी कार्यालय झापाले भने स्थानीयमाथि दमन नगरेको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विष्णुकुमार केसीले स्थानीयले प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध गरेपछि प्रहरीसँग झडप भएको बताए। झडपका क्रममा अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ। ‘ अश्रुग्यासचाहिँ हानेको हो। गोली चलाएको छैन। कति अश्रुग्यास प्रहार भयो भन्ने विवरण आउन सकेको छैन।’ दसैंको टीकाको दिन बेपत्ता भएका बालक शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा- ५ स्थित धानबारीमा फेला परेको थियो।

बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। प्रहरीले हत्याको अनुसन्धान नगरेको भन्दै बिर्तामोडमा प्रदर्शन गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close