निराश भएर झन्नै गीत गाउनै छाडेको थिएँ

Radio Purbodaya
0
SHARES

 

प्राज्ञ राम धामी
( नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान)

गाउँघरमा राति गरिने थारू नाचगानबाट प्रभावित भई हार्मोनियम सिक्ने रहरले म पनि नाच मण्डलीको सदस्य भएँ । सुरुसुरुमा हार्मोनियम बोक्न लगाए । आफूले सिक्ने बाजा भएकोले खुसी लाग्थ्यो र बोक्थँे । कतै बिसाएका बेला हार्मोनियम खोलेर बजाउन सुरु गरिहाल्थेँ । त्यही क्रममा मैले हार्मोनियम सिक्ने मौका पाएँ । सिकेपछि त्यै नाच–मण्डलीमा बजाउन थालेँ । हार्मोनियम बजाउँदै गीत गाउन लाज लाग्थ्यो । अलिक पछि हार्मोनियम बजाउँदै गाउन टोली प्रमुख खुसीलाल धामीज्यूले मलाई बाध्य बनाउनुभयो । कि त यो नाच मण्डली छोड् कि त हार्मोनियम बजाएर गीत गाउन पर्यो । अनि हार्मोनियम बजाउँदै गाउन बाध्य भएँ म ।
अनि यहीँबाट मेरो गायन–यात्रा सुरु भयो । तर नाचगानमा भाग लिन साहै्र कठिन पथ्र्याे किनकि बुबालाई नाचगानबाट साह्रै वितृष्णा भएको रहेछ ।
पहिलापहिला नाचगानमा धेरै विकृतिहरू थिए ।
मेरो छोरो पनि बिग्रिने भो भन्ने डरले मलाई नाचगानमा जान प्रतिबन्ध थियो । यता मलाई सङ्गीतको भूत चढेको थियो । खाने मुखलाई जुँगाले छेक्तैन भनेझँै बुबाले मलाई नाचगानमा जान नदिन केके बहाना गरेर मलाई अल्मल्याउनुहुन्थ्यो । आफ्नो दाउ अर्कै छ, निद्रा लागेको बहाना गरी सुत्न गई चोरको जस्तो चाल मारेर घरको खम्बाबाट ओर्लेर नाचगानमा पुग्थेँ । बिहान ३–४ बजे आएर फेरि उही क्रमले माथि चढी आफ्नै घरमा सुतेको हुन्थेँ । यही क्रम चलिरह्यो । यो त भयो रात्रिको कार्यक्रम । दिउँसो कतै कार्यक्रमको निम्तो आएको बुबालाई थाहा भयो कि पसलमा काम थप्नुहुन्थ्यो । मलाई असल व्यापारी बनाउने बुबाको इच्छा रहेछ । तर ममा त्यो गुण थिएन । अहिले पनि म आफूलाई व्यापारिक गुण भएको मानिस ठान्दिनँ । पछि म आफ्नै मनखुसी गर्न थालेँ । पछि बुबा आफैँ वाक्कदिक्क भएर मलाई कराउन छाड्नुभो ।
निरन्तर म सङ्गीतमा लागिरहेँ । आज पनि यो यात्रा जारी छ । लाग्छ जीवनभर यो क्रम चलिरहनेछ । पुस–माघको जाडोमा पानीमा बसेर पनि मैले रियाज गरँ । बिहान ४, बेलुका ५ घण्टा गरी दैनिक ९ घण्टासम्म साधनामा व्यस्त रहन्थेँ सुरुका दिनहरूमा ।

अमिलो, पिरो, चिसो, चिल्लो सबै त्याग गरेको थिएँ । मात्र सादा भोजन गर्ने गरेको थिएँ केवल गाउनका लागि भनेर । लक्ष्मी बजगाईँमार्फत द हेक्सागन ब्रदर्स ग्रुप इटहरीका सदस्यहरूसँग परिचय हुने मौका मिल्यो । त्यसै मौकामा मैले त्यहाँ थारू गीत गाएँ । सबैको तारिफपश्चात् मैले द हेक्सागन ब्रदर्स ग्रुपमा प्रवेश पाएँ ।
स्वर्र्गीय गुरु रामु सुनुवारबाट सङ्गीत सिक्ने केही मौका पाएँ । आदरणीय दाइ बालकृष्ण कार्र्कीले राष्ट्रिय जागृति क्लबमा गाउनका लागि बोलाउनुभो । त्यस क्लबको कार्यसमितिमा रही केही वर्ष काम गर्ने मौका पनि पाएँ । राष्ट्रिय जागृति क्लबमा स्टेजको वाहवाहीपछि म रेडियो नेपालमा गीत गाउन पुगेँ । सिंहदरबारभित्र छिर्न गेटपास चाहिँदो रहेछ । कसले दिन्छ र मलाई गेटपास ? दिउँसो २ बजेपछि सर्वसाधारणलाई सिंहदरबार, रेडियो नेपाल हेर्न दिने नियम थियो । त्यसैबेला पसेर रेडियो नेपाल हेरेर फर्कन्थेँ । यही क्रम धेरैचोटि चल्यो ।
एक दिन सञ्चार सहायक मन्त्री कृष्णकुमार राईको कार्यालयमा पुगी दुखेसो सुनाएपछि वहाँले एउटा गीत सुन्न चाहनुभो । मैले गीत गाएर सुनाएपश्चात् एउटा चिटमा लेखिदिएर रेडियो नेपाल लिएर जाऊ भन्नुभो । मैले भनेँ– भित्र पस्न दिँदैनन् मन्त्रीज्यू । वहाँले त्यो चिट्ठी लिएर जाऊ भन्नुभयो र चिट्ठी लिएर जाँदा कतै रोकछेक भएन । यहीबाट रेडियो नेपालको गायन यात्रा सुरु भयो । थारू गीत गाउन सफल भएँ । अनि मात्र बुबाले माया गर्न थाल्नुभो ।

रेडियो नेपालमा आफूले गाएको गीत सार्नलाई पनि साह्रै कठिन पर्यो । निराश भएर झन्नै गीत गाउनै छाडेको थिएँ । सीताराम ताजपुरिया, स्वर्र्गीय युक्त गुरुङ, राजु अग्रवालहरूले मलाई निराश हुनबाट बचाउनुभो । धन्यधन्य छ वहाँहरूलाई । पछि आधुनिक गीत गायनतर्फ स्वरपरीक्षा उत्तीर्ण गरी रेडियो नेपालमा प्रवेश पाएँ । रेडियो नेपालमा नोटेसन ताली खालि कर्डसका कुरा मात्र सुन्थेँ । के हो ताली खालि कर्डस केही थाहा छैन । रेडियो नेपालको गायक त भइयो, गाउन बजाउन पनि थालियो । सङ्गीत शास्त्रको ज्ञान नभएकाले अनिवार्य ठानी शास्त्रीय सङ्गीत सिक्ने निर्णय गरेँ । शास्त्रीय सङ्गीत सिक्ने इच्छा भएका मित्रहरू पनि पाएँ ।
मणि गुरुङ, राजु केसी, सुशील आचार्य समेत भएर शास्त्रीय सङ्गीत सिक्न थाल्याँै । हाम्रो अभ्यास गर्ने थलो नै सङ्गीत साधना महाविद्यालय भयो । आज सङ्गीत साधना प्रतिष्ठान भएको छ । हामी सबै मित्रहरू २१ आँै वर्ष अघिदेखि एउटै संस्थामा काम गर्दै आइरहेका छाँै । त्यही सङ्गीत साधनाको फलस्वरूप आज म नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको प्राज्ञ सदस्य भएको छु । अहिले सम्ममा १०० भन्दा बढी गीतमा सङ्गीत भर्ने अवसर पाएको छु । थारू र नेपाली गरेर ५० वटा जति गीत आफ्नै स्वरमा रेकर्ड भएका छन् । मेरा २० वटा गीत अरूले गाएका छन् । ३० वटा गीत रेकर्ड हुने क्रममा छन् ।

२७ कार्तिक २०७४, सोमबार ०८:४६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु