सङ्घषर्, निरन्तरता र जवाफदेहिता नै जीवन – बाबुराम प्रधान

आज पनि हिजो सडकमै सुतेको सम्झन्छु ।

 

रामप्रसाद खरेल

“पहिले ए बाबे भनेर बोलाउनेहरूले आज बाबुरामजी भनेर बोलाएको सुन्दा भित्र कताकता अचम्म पनि लाग्छ र आफ्नै जीवनसँग गौरव पनि लाग्छ । मेरो जीवनमा भएका यावत् आँसु र हाँसोको कथा यतिमै अटाएको छ भन्ने लाग्छ ।” अन्डरग्राउन्ड ड्राइभिङ इन्स्टिच्युट इटहरीका प्रोपाइटर बाबुराम प्रधानले यसो भनिरहँदा उहाँको मुहारमा एकप्रकारको कान्ति देखिन्थ्यो ।

वि.सं. २०४७ सालमा फोरेन ड्राइभिङ सेन्टरका नारायण बजगाईँसँग सिकेको ड्राइभिङको सीप नै आजसम्म जीवन बनाउने र चलाउने एक माध्यम भएको छ । २०४६ सालमा एसएलसी दिनुभएपछि लेखनाथ चौँलागाईँको कोकको डिलरमा मासिक १५ सयमा वहाँले काम थाल्नुभएको सम्झना वहाँले व्यक्त गर्नुभयो । ४८ सालको अन्त्यसम्म त्यसले निरन्तरता पायो । केही समयपछि चौँलागाईँकहाँबाट कोकको डिलर सुरेन्द्र ताम्राकारले लिनुभयो । बाबुरामले पनि ताम्राकारको अमृत ट्रेडर्समा काम गर्नुभयो । “१ वर्षसम्म ड्राइभिङ गरँे । त्यस बेला सानो गाडी थियो । १ वर्षपछि ठूलो गाडी किने, चलाउन सक्दैनस् भनेर मलाई कामबाट निकालिदिए ।” बाबुरामले आफ्नो जीवनको पुरानो कथा सुनाउनुभयो । वहाँको जीवनकथा खोज्दै जाँदा थाहा भयो कि २०५१ सालमा सुकुम्बासी समस्या सामाधान आयोग मोरङमा ड्राइभरको काम पाउनुभयो । त्यस काममा इटहरीका राजेन्द्र सिटौलाले लगाइदिनुभएको थियो ।

एक वर्षपछि त्यहाँको जागिर पनि सकियो । त्यसपछि थपियो समस्याको भारी । जित्नेहरू गर्न छाड्दैनन् र गरेपछि जितेरै छाडिन्छ भनेजस्तो दुःख–पीडा सहेर नै वहाँले सङ्घर्ष गरिरहनुभयो । वहाँको सम्झना यस्तो छ ः  “जागिर सकिएपछि खान लाउन पनि समस्या हुन थाल्यो । धेरै तनाव भयो तर पनि त्यसलाई सहज रूपमा लिएर केही न केही प्रयासहरू गरिरहेँ । इटहरी फर्किएर ५२ सालदेखि ५९ सालसम्म अडियो क्यासेट पसल खोलँे । बिस्तारै अगाडि बढ्दै गएँ । त्यसैको फलस्वरूप आज यस स्थानमा उभिन सकेको छु ।

”ड्राइभिङले नै वहाँको जीवन हल्लाइरहेको थियो । एउटा सानो कार किनेर आफैँ चलाउने सोच थपियो वहाँको मनमा । कार त किन्ने तर साथमा पैसा थिएन । रिन गरेर भए पनि आफ्नो उद्देश्य पूरा गरेर छाड्नुभयो वहाँले । बिग्रिएर ग्यारेजमा फ्याँकेको फिएट कार २०५७ सालमा ७० हजारमा किन्नुभयो र चलाउन थाल्नुभयो व्यवसायको रूपमा ।

वि.सं. २०२७ साल कार्तिक १५ गते बुबा लोकबहादुर प्रधान र आमा विष्णुमायाको सन्तानको रूपमा जन्मनुभएका बाबुराम प्रधानको २०५१ साल वैशाख २९ गते सुनिता प्रधानसँग लगनगाँठो बाँधियो । वहाँहरूका १ छोरा र १ छोरी गरी दुई सन्तान छन् आफ्नो जीवनको आदर्शलाई निरन्तरता दिनका लागि ।

थोत्रे कार किनेर वहाँले व्यवसाय गरिरहनुभएको थियो । जीवनमा एउटा यस्तो कुराले वहाँको जीवनलाई अर्कै सोचतर्फ धकेलिदियो । वहाँ भन्नुहुन्छ– “इटहरीका खगेन्द्र कार्कीले व्यवसायकै एक प्रसङ्गमा यस्तो कुरा भन्नुभयो जुन कुराले आज पनि मेरो जीवनमा हिट गरिरहेको छ । खगेन्द्रले मलाई भन्नुभयो– कोही खान नपाएर मर्छ भने म के गरूँ त ? यही शब्दले मलाई ड्राइभिङ सेन्टर खोल्न ऊर्जा दियो । नकारात्मक कुराको कारण पनि कहिलेकाहीँ राम्रै हुँदो रहेछ । पछि खगेन्द्रले कुदाउने आरएक्स गाडी पनि मैले नै २८ हजार १ सयमा किनिदिएँ । त्यस बेला खुब आनन्द आएको थियो ।”

सोचेपछि पुग्छ भनेझैँ २०५९ सालमा यादव पौडेलसँग ११ हजारमा अन्डरग्राउन्ड ड्राइभिङ इन्स्टिच्युट किन्नुभयो । यादव पौडेलले ४८ सालमै खोल्नुभएको यो इन्स्टिच्युट ५७ सालसम्म सञ्चालन भएर बन्द भएको थियो । ड्राइभिङ इन्स्टिच्युट त किन्नुभयो तर गाडी छैन । वहाँ भन्नुहुन्छ – “तनाव भइरहेको थियो, एक दिन मैले इटहरीका अशोक सिटौलालाई आफ्नो कुरा बताएँ । वहाँले मेरो कुरा सुन्नेबित्तिकै सके तिर्नू नसके नतिर्नू भनेर १ लाख रुपैयाँ दिनुभयो । १ लाख ५० हजार नेपाः बहुउद्देश्यीय सहकारी संस्थाबाट रिन लिएर र आफूसँग भएको ३० हजार गरी २ लाख ८० हजारमा ड्राइभिङका लागि एउटा मारुती भ्यान किनेँ । त्यो मारुती भ्यान किन्दा मैले आफूलाई संसारको धनी महसुस गरेको थिएँ ।”

आज बाबुरामको इन्स्टिच्युटमा ४ जनाले रोजगारी पनि पाइरहेका छन् । वहाँले भनेअनुसार झन्नै २५ हजारले ड्राइभिङको सीप पनि सिकेका छन् । लाइट, हेभी र मोटरसाइकल लगायत सिकाइने वहाँले जानकारी दिनुभयो । एक बिघा जग्गा लिजमा लिएर निजी रूपमा ट्रायल फिल्ड पनि बनाउनुभयो । निजी क्षेत्रको पहिलो ट्रायल फिल्ड हो वहाँको । आफ्नो पेसा–व्यवसायमा तल्लो तहबाट आज त्यही पेसामा माथिल्लो स्तरमा स्थापित हुन वहाँ सफल हुनुभएको छ ।

गीत लेख्न, गाउन र केही टेलिचलचित्रमा अभिनय गर्नसमेत भ्याइसक्नुभएका बाबुराम मानवीय सेवामा पनि उत्तिकै समर्पित रहनुभएको छ । पागल, माग्नेलाई कसैले वास्ता गर्दैनन्, तिनीहरूलाई खान दिने काममा पनि लाग्नुहुन्छ वहाँ । “मानवीयता त सबैमा छ । मान्छेलाई खुसी पार्न सक्दा आनन्द हुन्छ मन । धेरै दिनुपर्दैन । थोरै दिएर पनि खुसी पार्न सकिन्छ ।” रक्तदानमा पूर्वमा अग्रणी स्थानमा रहनुभएका वहाँको एक सय पटक पु¥याउने घोषणा ३३ पटक रगत दान गरेपछि रेडक्रसले सम्मान गर्दा नै गर्नुभएको थियो । अहिलेसम्म वहाँले ९९ सयपटक रगत दान गरिसक्नुभएको छ । आफ्नो जीवनको भावी कुरा बताउँदै वहाँ भन्नुहुन्छ– “यही व्यवसायलाई निरन्तरता दिँदै कुनै सामाजिक संस्थामा लागेर स्वयम्सेवक गर्ने सोच छ । खासगरी कला, सृजनामा लागेकाहरूलाई सहयोग गर्ने इच्छा छ । मलाई यही व्यवसायबाट पूरै आनन्द छ ।”

नमस्ते एफएम इटहरीको अध्यक्षसमेत भएर काम गरिसक्नुभएको छ वहाँले । सुरुमा वहाँको परिवार निम्न आय भएको थियो । कृषि र होटल व्यवसायमा संलग्न थियो परिवार । परिवारका पुराना दिनको सम्झना वहाँकै शब्दमा– “परिवार पाल्नै गाह्रो भएर मेरो बुबा इटहरी छाडेर हिँड्न आँट्नुभएको थियो । त्यही बेला साहित्यकार जीबी लुगुनसँग भेट भएछ बुबाको । लुगुनले नै विकल्पहरू देखाइदिएर बुबालाई इटहरी छाडेर हिँड्न दिनुभएन । त्यसैको कारण आज म पनि इटहरीमै बसेर आफ्नो पहिचान बनाउन सकेको छु ।”

जीवनयात्राका क्रममा कहालीलाग्दा दिन आज पनि छन् वहाँका आँखामा । हिजो कुनै कुनै दिन पेटभर खान नपाएको, सडकमै सुतेको दिन भुल्नुभएको छैन ।“आज एक प्रकारले आफ्नो पेसाव्यवसायमा स्थापित भइसकेको छु । गर्न त अझै पनि धेरै बाँकी छ । यो गरिरहने प्रक्रिया हो । चुपचाप बस्न सक्तिनँ । काम गरिरहने आदत नै बसेको छ । अरूले सफल देखे पनि आफूलाई खास त्यस्तो फरक लाग्दैन । म ह्वात्तै यहाँसम्म आइपुगेको होइन म, अत्यन्तै सङ्घर्ष गर्दै क्रमशः आइपुगेको हुँ । फरक अनुभूति छैन । आज पनि हिजो सडकमै सुतेको सम्झन्छु ।”

सामाजिक सेवामा आनन्द भेट्टाउने, कला, साहित्य र सङ्गीतलाई माया गर्ने र आफ्नो कर्ममा विश्वास गर्ने बाबुराम प्रधान आफ्नो जिन्दगीको यात्रालाई अविराम सङ्घर्ष र मेहनतको फल सम्झनुहुन्छ । पेसा, व्यवसायमा इमान्दारिता, लगनशीलता, निरन्तरता, जवाफदेहिता, सङ्घर्ष र कर्मप्रतिको विश्वास नै आफ्नो जीवनको भरोसा, विश्वास र आदर्श मान्नुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close