नेरु भर्सेस भारु

Radio Purbodaya
0
SHARES

सय भारतीय रुपैयाँ (भारु) बराबर कति नेपाली रुपैयाँ (नेरु) हुन्छ?

यसको जवाफ प्राय: हामी सबैलाई थाहा छ- १ सय ६० रुपैयाँ।

यो दर कहिले तय भयो? किन कहिल्यै घटबढ हुँदैन?

नेपालले भारतसँग आफ्नो मुद्राको विनिमय दर स्थिर राखेको छ। यसको मतलब, जसरी अमेरिकी डलर वा अन्य विदेशी मुद्राको दाँजोमा नेपाली रुपैयाँ दिनकै घटबढ भइरहन्छ, नेरु र भारुबीच त्यस्तो हुँदैन।

२०१६ सालसम्म नेपाली र भारतीय रुपैयाँको भाउ बराबर थियो। सय भारु बराबर सय नेरु। त्यसयता भारुको दाँजोमा नेरु सस्तो हुँदै अिहलेको अवस्थामा आइपुगेको हो।

यसबीच परिवर्तन हुँदै नभएको होइन। सन् १९६६, १९६७, १९७७ र १९८५ मा भारुको दाँजोमा नेरु सस्तो भएको थियो। सन् १९९१ र १९९३ मा महँगो भएको थियो। सन् १९९३ यता भने परिवर्तन गरिएको छैन।

बेलाबेला परिवर्तन भए पनि नेरु र भारुको मूल्य स्थिर राख्ने प्रणाली कायम छ। नेरुको अरु विदेशी मुद्रासँगको विनिमय दर पनि भारुको ती मुद्रासँगको विनिमय दरले नै निर्धारण गर्छ। अर्थात्, भारुको मूल्य अमेरिकी डलरसँग जसरी घटबढ हुन्छ, त्योसँगै नेरुको पनि हुन्छ।

एकथरी विश्लेषकहरू अहिलेको विनिमय दर पुनरावलोकन गर्नुपर्ने तर्क गर्दैछन्। उनीहरु नेपाली रुपैयाँ अझ सस्तो बनाउनुपर्छ भन्दै छन्। अर्काथरी विश्लेषक भने स्थिर विनिमय दरको व्यवस्था नै हटाउनुपर्छ भन्छन्।

नेपाल र भारतको अर्थतन्त्रमा सन् १९९३ यता ठूलो परिवर्तन आएको छ। व्यापार र लगानीका स्रोत विकेन्द्रीकरण भएका छन्। अर्थतन्त्रमा संरचनात्मक परिवर्तन भएको छ। अहिलेको विनिमय दर वा मुद्रा स्थिर रहने प्रणालीले अर्थतन्त्रको परिवर्तन प्रतिविम्बित गर्दैन। त्यसैले, भारुको दाँजोमा नेरुको मूल्य सस्तो बनाइयो भने नेपालले आफ्नो निर्यात बढाउन सक्छ। अझ विनिमय दर स्थिर रहने प्रणाली नै हटाइयो भने हामी आफ्नो मौद्रिक नीति स्वतन्त्र रुपले लागू गर्न पाउँछौं। भारतीय मौद्रिक नीतिको पुच्छर समाएर हिँड्नु पर्दैन।

यस्ता तर्क-वितर्कबीच आखिर हामीले के गर्न ठिक हुन्छ?

सबभन्दा पहिला मूल्य सस्तो हुनुपर्छ भन्ने तर्कमा चर्चा गरौं।

हामीले नेरु सस्तो बनायौं भने निर्यात सस्तो पर्छ, आयात महँगो।

मानौं, १ सय ६० रुपैयाँ पर्ने बिस्कुट हामीले भारत निर्यात गर्यौं। अहिलेकै विनिमय दरमा त्यो बिस्कुट भारतीय ग्राहकले १०० भारुमा किन्ने छन्। हामीले नेरु सस्तो बनाएर सय भारु बराबर १ सय ८० तोक्यौं भने त्यही बिस्कुट भारतीय ग्राहकलाई सस्तो पर्नेछ। उनीहरुले सय भारु तिर्दा १ सय ६० रुपैयाँको बिस्कुटसँगै २० रुपैयाँको थप सामान किन्न सक्ने छन्।

यसले नेपाली उद्योगलाई फाइदा हुन्छ। केही पनि अतिरिक्त मूल्यविना उही समान सस्तोमा बेच्न पाइन्छ। यसलाई हामी प्रतिस्पर्धात्मक मूल्य भन्छौं। नेपाली निर्यात सस्तो पर्यो भने भारतीय ग्राहकले धेरै माग गर्छन्। नेपाली उद्योगले आफ्नो क्षमता विस्तार गरेर धेरै सामान उत्पादन गर्न सक्छन्। यसले रोजगारी र आर्थिक वृद्धि हुन्छ।

यसरी नेरु सस्तो बनाउँदा हाम्रो व्यापार घाटा भने कम हुँदैन। किनभने, हामीले आयात गर्दै आएका सामान पहिलेभन्दा थप महँगो पर्न जान्छ।

कसरी?

अघिकै उदाहरणलाई उल्टोबाट हेरौं।

मानौं, १ सय भारु पर्ने बिस्कुट हामी भारतबाट आयात गर्छौं। अिहलेकै विनिमय दरमा त्यो बिस्कुट नेपाली ग्राहकले १ सय ६० रुपैयाँमा किन्ने छन्। हामीले मूल्य घटाएर सय भारु बराबर १ सय ८० नेरु तोक्यौं भने त्यही बिस्कुट नेपाली ग्राहकलाई महँगो पर्नेछ। पहिले १ सय ६० रुपैयाँ तिर्दै आएको बिस्कुट किन्न १ सय ८० तिर्नुपर्नेछ।

हामीले भारतबाट आयात गर्ने अधिकांश सामान नेपाली उद्योगले उत्पादन गर्दैनन्। गरे पनि कच्चापदार्थ आयात गर्ने उतैबाट हो। त्यही कच्चापदार्थमा थोरै मूल्य अभिवृद्धि गरेर त्यही सामान हामी महँगोमा उत्पादन गर्छौं। हाम्रो उत्पादन लागत महँगो छ। लागत प्रतिस्पर्धामा हामी कमजोर छौं।

भारतबाट हुने आयातमा ठूलो हिस्सा ओगट्ने भनेका पेट्रोलियम र ग्यास, सवारी साधन, औद्योगिक औजार र कतिपय कृषिसँग सम्बन्धित सामान र उत्पादन हुन्। देशमा पर्याप्त बिजुली उत्पादन र उपयोग छैन। अझै पनि हामी भारतबाट बिजुली आयात गर्छौं। उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन्। हाम्रो औद्योगिक उत्पादन क्षमताको ५५ प्रतिशत हाराहारी मात्रै छ। उद्योगहरुमा दक्ष कामदार अभाव छ। निर्यात प्रवर्द्धन गर्न बनेका नीतिहरु कागजमै सीमित छन्।

यहाँनिर अर्थशास्त्रको एउटा सिद्धान्तबारे कुरा गरौं।

‘जे-कर्भ प्रभाव’ भनिने यो सिद्धान्तले भन्छ- मुद्राको भाउ सस्तो बनाइयो भने केही वर्षसम्म व्यापार घाटा बढेर जान्छ। यसले निर्यात बढ्छ, आयात घट्छ। र, कालान्तरमा व्यापार घाटा पनि घट्दै जान्छ।

हामीले भारुको दाँजोमा नेरु सस्तो पार्नेबित्तिकै पहिल्यै अर्डर गरेका तर भुक्तानी नभएका सामानको मात्रा परिवर्तन हुँदैन। आयात मूल्य भने महँगो पर्छ। यसले व्यापार घाटा तत्कालै बढेर जान्छ।

जब आयात महँगो र निर्यात सस्तो पर्छ, उपभोक्ताले महँगा आयातीत वस्तुको विकल्प स्वदेशमै खोज्न थाल्छन्। उद्योगहरुले सस्तोमा धेरै सामान निर्यात गर्न सक्छन्। आन्तरिक उद्योगहरुले आफ्नो क्षमताअनुरुप उत्पादन सुरु गर्छन्। नयाँ उद्योग खुल्ने वातावरण बन्छ। हामीले बनाएका सामान अरु राष्ट्रको भन्दा सस्तो हुन्छ। यसले व्यापार घाटा कम हुँदै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ।

यसरी हामी मुद्राको भाउ सस्तो बनाएर लाभान्वित त हुन सक्छौं, तर हाम्रो अर्थतन्त्र अहिल्यै त्यो विन्दुमा पुगेको वा पुग्न लागेको अवस्था छैन।

अब भारुको तुलनामा नेरुको मूल्य सस्तो पार्दा बृहत् अर्थतन्त्रमा पर्ने अरु प्रभावबारे चर्चा गरौं।

आयात महँगो पर्नेबित्तिकै बजारमा मूल्य वृद्धि दर बढ्छ। निर्यात सस्तो भएपछि हाम्रो सामानको माग बढ्छ। हामीले माग भएर पनि उत्पादन बढाउन सकेनौं भने कामदारको ज्याला र अरु खर्च वृद्धि हुन्छ। यसले समग्रमा उत्पादन लागत बढ्छ। र, अन्त्यमा बजारमा खुद्रा सामानको पनि मूल्य वृद्धि हुन्छ।

यो क्रम बढ्दै मूल्य वृद्धि धेरै भयो भने सरकारले आफ्नो खर्च घटाउनुपर्ने हुन्छ। राष्ट्र बैंकले ब्याज दर बढाउनुपर्ने हुन्छ। सर्वसाधारणले बैंकबाट लिएको ॠणको व्याज बढ्छ। अहिले बैंकहरुमा ॠणको व्याज २० प्रतिशत हाराहारी छ।

नेपाली रुपैयाँ सस्तो बनाउनुको मनोवैज्ञानिक पक्ष पनि छ।

हाम्रो अर्थतन्त्र तुलनात्मक कमजोर छ। मूल्य वृद्धि दर धेरै छ। राजनीतिक तथा आर्थिक अवस्था अस्थिर भए जनताले बलियो अर्थतन्त्रको बलियो मुद्रा आफूसँग राख्न रुचाउँछन्।

कमजोर अर्थतन्त्र र मूल्य वृद्धि दर धेरै हुँदाहुँदै हामीले भारुको दाँजोमा नेरु सस्तो बनायौं भने जनताले भारुकै माग बढाउन सक्छन्। उनीहरुले नेपालमा भएको पैसा भारत लगेर राख्न वा लगानी गर्न सक्छन्। यसलाई पुँजी पलायन भन्निन्छ। अहिले पनि सीमा क्षेत्रमा भारुको भाउ सरकारले तोकेको विनिमय दरभन्दा बढी छ। अर्थात्, नेपाली रुपैयाँको चलनचल्ती मूल्य वास्तविकभन्दा सस्तै छ।

अझ भारतका बैंकले नेपालका बैंकले भन्दा धेरै व्याज दिने र यहाँको मूल्य वृद्धि भारतमा भन्दा धेरै भए झन् धेरै पुँजी पलायन हुनेछ।

नेपाली रुपैयाँ एकचोटि सस्तो बनाएपछि पनि स्वदेशी उत्पादन र निर्यात वृद्धि भएन, व्यापार घाटा घटेन र आर्थिक वृद्धि भएन भने फेरि पुनरावलोकन गर्नुपर्ने हुन सक्छ। कतिपटक र कहिलेसम्म पुनरावलोकन गर्नुपर्ने हो भन्ने अनुमान गर्न गाह्रो छ। यस्तो अवस्थामा स्वदेशी मुद्राप्रति विश्वास घट्नेछ। र, झन् धेरै पुँजी पलायन हुने सम्भावना बढ्छ।

यो भारुको दाँजोमा नेपाली रुपैयाँ सस्तो पार्दाको कुरा भयो। अब भारु र नेरुको स्थिर विनिमय दर हटाउनेबारे चर्चा गरौं। अर्थात्, डलर वा अन्य विदेशी मुद्राजस्तै भारु र नेरुको विनिमय दर दिनहुँ घटबढ भइरहने अवस्था हेरौं।

भारतसँगको स्थिर विनिमय दरले नेपालको मौद्रिक तथा आर्थिक नीति स्वतन्त्र भएन भन्ने छ। यसले भारतबाट सामानसँगै मूल्य वृद्धि पनि आयात गर्दैछौं भन्ने तर्क गरिन्छ। भारतले पाँच सय र हजार रुपैयाँलाई चलनचल्तीबाट हटाएपछि नेपाललाई पनि असर पर्ने कुरा उठाइँदैछ।

यी जायज तर्क हुन्।

तर, हामीले आफ्नो अर्थतन्त्रको क्षमता बुझेर मात्र यस्तो तर्क गर्नु ठिक हुन्छ।

सन् २०१७ मा नेपालको अर्थतन्त्र करिब २४ अर्ब डलर बराबर पुगेको छ। भारतको २ हजार ५ सय ९७ अर्ब डलर छ। नेपालको प्रतिव्यक्ति आय ८ सय ३५ डलर छ भने भारतको १ हजार ९ सय ४० डलर।

हाम्रो कमजोर अर्थतन्त्रको नजिक भारतको बलियो अर्थतन्त्र छ। हामीबीच स्वतन्त्र आवागमन हुन्छ। खुला व्यापार सन्धि छ। यसले पुँजी पलायन हुने र गम्भीर आर्थिक समस्या पर्दा सहनै नसकिने अवस्था आउन सक्छ।

जस्तै, नेरु सस्तो बनाउन हामीसँग पर्याप्त विदेशी मुद्रा भएर अन्तर्राष्ट्रिय मुद्रा बजारमा हस्तक्षेप गर्ने क्षमता हुनु जरुरी छ। यो रणनीति तब सफल हुन्छ, जब अरु राष्ट्रले आफ्नो मुद्राको भाउ घटाउँदैनन्। हामी प्रतिस्पर्धी तरिकाले निर्यात गर्न सक्ने गरी उत्पादन गर्न थाल्छौं।

अस्थिर विनिमय दर प्रणालीमा मुद्राको मूल्य माग र आपूर्तिले निर्धारण गर्छ। हाललाई राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि स्थिर विनिमय दर प्रणालीलाई निरन्तरता दिँदा केही हदसम्म आर्थिक अनिश्चितता कम हुने र हामीलाई फाइदा हुने निष्कर्ष निकालेका छन्।

त्यस्तो भए अब के गर्ने?

भारुको दाँजोमा नेरु सस्तो बनाउनुको लक्ष्य स्वदेशी उत्पादन र निर्यात वृद्धि, व्यापार घाटा कम, आर्थिक समृद्धि र रोजगार वृद्धि हो। हाम्रो औद्योगिक उत्पादन र क्षमता कमजोर छ। मूल्य वृद्धि दर स्थिर भइसकेको छैन। यस्तो अवस्थामा हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ।

स्थिर र प्रतिस्पर्धी विनिमय दर राख्न विश्वसनीय मौद्रिक तथा आर्थिक नीति हुनु जरुरी छ। यसका तीन विशेष पक्ष छन्: बलियो वित्तीय क्षेत्र, सही समष्टिगत आर्थिक नीति र विश्वसनीय संस्थाहरु।

विश्व वित्तीय बजारमा हाम्रो पहुँच नगन्य छ। उत्पादन क्षमता कम छ। उत्पादनको मूल्य कम छ। वित्तीय क्षेत्र अव्यवस्थित छ। मौद्रिक र आर्थिक नीतिमा विश्वसनीयताको कमी छ। मूल्य वृद्धि दर धेरै छ र अस्थिर छ। अर्थतन्त्र रेमिटेन्स आयले धानेको छ। यस्तो अवस्थामा हाम्रो निम्ति अहिलेको स्थिर विनिमय दर नै उचित हुन्छ।

पुनरावलोकन गरी नेपाली रुपैयाँको भाउ सस्तो बनाउने हो भने यसबाट फाइदा गराउने आधारहरु बलियो हुनु जरुरी छ।

हचुवा भरमा हल्ला मच्चाउने र निर्णय गर्ने हो भने सबैलाई घाटा हुन्छ। सन् २०१० मा यस्तै हल्ला हुँदा अर्थमन्त्री, अर्थसचिव र राष्ट्र बैंकले खण्डन गर्नुपरेको थियो।

८ भाद्र २०७५, शुक्रबार ०७:०७ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु