दिपक : जस्तो नाम उस्तै काम

Radio Purbodaya
0
SHARES

हाम्रो नेपाली समाजमा एउटा भनाई छ मानिसको नाम अनुसारको काम हुनुपर्छ । तर त्यस्तै नाम अनुसारको काम गर्ने मानिस भेट्न एकदमै मुस्किल छ । तर,  नाम अनुसारको काम पनि  भएका केही नेपालीको कर्म देखेर जो कोहीलाई भित्रैदेखि नमन गर्न मन लाग्छ र तिमध्ये एक हुन्– दिपक खड्का ।


दोलखाको खोपाचागु पुख्र्यौली घर भएका इन्जिनियर खड्का मूलतः अष्ट्रेलियामा स्थापित नेपाली व्यवसायी हुन् । खड्का अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यका लागि नेपालका अवैतनिक वाणिज्यदूत समेत हुन् ।

लामो समय हङकङ बसेर अष्ट्रेलियामा स्थानान्तरण भएका खड्का गैरआवासीय नेपाली संघ (एनआरएनए)को राजनीतिभन्दा निकै पर रहेकै कारण नेपाली डायस्पोरमा त्यति चर्चित छैनन् ।

खड्काको स्वभाव पनि चर्चाका लागि कुनै काम नगर्ने र आफूले गरेका काम सकेसम्म प्रचारमा नल्याउने भएकाले उनका विषयमा धेरै नेपालीलाई थाहा छैन ।

खड्काले हालैमात्र यस्तो काम गरेका छन्, जसले उनीप्रति निकै श्रद्धा बढाउँछ । माथिल्लो तामाकोसीको सेयर भर्ने पैसा नभएका आफ्ना गाउँलेलाई उनले सेयर भर्न रकम दिए र त्यो पनि ऋणका रुपमा नभै अनुदान स्वरुप ।

विगू गाउँपालिका–८ खोपाचागुका स्थानीयवासीलाई तामाकोसी आयोजनामा सेयर लगानीका लागि खड्काले आवश्यक रकम उपलब्ध गराएका छन् । खोपाचागुका ७ सय २१ घरपरिवारका भूकम्पपीडितको लाभग्राही सूचीमा परेका स्थानीयलाई जनही ५ हजारका दरले उक्त रकम उपलब्ध गराएका हुन् ।

खड्काले खोपाचागुमा शनिबार आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरे । आर्थिक अभावकै कारण माथिल्लो तामाकोसीजस्तो राष्ट्रिय गौरवको आयोजनामा सेयर हाल्ने अवसरबाट कोही पनि बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आफूले आर्थिक सहयोग उपलबध गराएको उनले बताए ।

कार्यक्रममा विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, उपप्रमुख सञ्जिव ओलीसहित अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा तथा प्रदेशसभा सांसदद्वय पशुपति चौलागाईं र विशाल खड्का, कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्कालगायत सहभागी थिए ।

भूकम्पपछि घर बनाउँदा ऋणले थलिएका स्थानीयलाई मनकारी खड्काले सेयर हाल्ने रकम दिएपछि स्थानीयमा खुसियाली छाएको छ । खड्काले यसअघि पनि भूकम्पलगायतका विभिन्न समयमा समस्यामा पर्दै आएका सर्वसाधरणलाई सहयोग गर्दै आएका छन् ।

१२ भाद्र २०७५, मंगलवार ०६:०१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु