मजदुर दिवसको र्‍यालीमा नअटाएकी कमला लखन्द्री

May 1, 2018
Responsive image

१८ वैशाख, काठमाडौं । सिन्धुपाल्चोककी ५३ वर्षीया कमला लखन्द्री सधैंझै काँक्रो र फलफूलको भारी लिएर सुन्धारातिर आउँदैथिइन् ।

बाटोमा मजदुर दिवसको र्‍याली निकालिएको थियो । उनलाई आफ्नो नियमितको ठाउँ पुग्न पनि र्‍यालीले बाटो छेकियो । र्‍यालीको अघिपछि गर्दै उनी आफूले फलफूल बेच्न बस्ने गरेको सडकको कुनोमा पुगिन्, भारी बिसाइन् । पानी पिइन् ।

मजदुर दिवस मनाउनेहरुको र्‍याली देखे पनि उनले नदेखेझैं गरिन् । तर त्यतातिर सोच्ने फुर्सद पनि छैन । ‘मजदुर दिवस मनाएर के गर्नु,  खान दिदैन हाम्लाई, हाम्रो दुख हामीलाईनै छ’ अनलाइनखबरसँग उनले भनिन् ।

उनले त्यही र्‍याली हेर्दै ग्राहकलाई फलफूल र काँक्रो बेच्न थालिन् ।

कमलाले ५ वर्ष घरहरुमा लुगा धुने र भाँडा माझ्ने काम गरिन् । त्यो काम छाडेर काँक्रो र सिजन अनुसारको फलफुल बेच्न थालेको पनि ५ वर्ष भयो ।

प्यारालाइसिसको बिरामी कमला बिहान ४ बजे नै कालिमाटी पुग्छिन्, दिउँसो बेच्ने फलफूल किन्न । अनि खानपीन गरेर सडकमा आइपुग्छिन् । १० बजे आएपछि ७ बजेसम्म ब्यापार गरेर फर्किन्छिन् ।

उपचारमा ३ लाख रुपैयाँ सकिए पनि उनलाई निको भएन । ३० वर्षअघि नै श्रीमानको मृत्यु भएको र एउटी छोरी विहे गरेर गएपछि उनी डेरामा एक्लै बस्दै आएकी छन् ।


Share Post :