Radio Live

श्रृंखला खतिवडा हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा

शनिबार ७ , मंसिर २०७५
Responsive image

काठमाडौ । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।
२० समूहध्ये १३ औं समूहको विजेता बन्दै उनले यो यात्रा तय गरेकी हुन् । च्यालेञ्जका लागि ११८ प्रतियोगीलाई २० वटा समूह बनाई प्रतिस्पर्धा गराइएको थियो । 
नेपाल २० मध्ये १३ औं समूहमा परेको थियो जसमा नेपालबाहेक अर्जेण्टिना, बोस्निया एण्ड हर्जगोभिना, ग्वाम, लक्जेम्बर्ग र मल्दोभाका सुन्दरीहरु थिए । समुहका ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी फाइनलमा प्रवेश गरेकी हुन् । 
यो जितसँगै ११८ प्रतियोगीबाट मिस वर्ल्ड २०१८ को उपाधिका लागि सेमी फाइनलमा पुग्ने ३० जनामा पर्नका लागि नेपालको सम्भावना जिवितै रहेको छ । सेमी फाइनलको ३० जनामध्ये प्रतियोगिताका निर्णायकहरुले १५ जना छान्दछन् भने बाँकी १५ जना हेड टु हेड च्यालेञ्जजस्तै अन्य विभिन्न प्रतियोगिताका माध्यमबाट छानिन्छन् । 
हेड टु हेडमा फालिए पनि अर्को सम्भावना बाँकी रहन्छ किनकि बाँकी ५ जना भने अन्य ५ प्रतियोगिताका विजेताहरुलाई लिइने हो । ५ प्रतिस्पर्धामध्ये टप मोडल र स्पोर्टस सम्पन्न भइसकेको छ । टप मोडल जापानले र स्पोर्टस् अमेरिकाले जितेको छ । 
नेपालले हेड टु हेडमा २० मध्ये १० जनामा पर्न सफल भएमा सेमी फाइनल पुग्ने पक्का छ । हेड टु हेड च्यालेञ्जको दोस्रो राउण्डमा प्रतिस्पर्धीहरुले विभिन्न प्रस्तुति दिनुपर्ने हुन्छ ।

यदि हेड टु हेड च्यालेञ्जको उत्कृष्ट १० मा नपरे बाँकी रहेका ३ प्रतिस्पर्धा मल्टिमिडिया, ब्यूटी विद पर्पस वा ट्यालेण्ट मध्ये कुनै एक उपाधि जिते पनि सेमी फाइनलको यात्रा पक्का हुनेछ ।